हिजो च्यासलमा खुकुरी नचाउनेलाई बालुवाटारमा निम्ता

भूगाेल संवाददाता
११ कार्तिक २०८१, आईतवार ११:२७

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा हिजो दिउँसै खुकुरी नचाउनेहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले झगडिया दुबै पक्षलाई भेट्न बोलाएको बताइएको छ । एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकअघि आज दिउँसो च्यासलमा दुई पक्षीय झडप भएको थियो । त्यसक्रममा अध्यक्ष पासाङ शेर्पाका भाञ्जाले खुकुरी प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीसमेत सहभागी हुने भनिएको बैठक शुरु हुनुअगावै खुकुरी देखाउँदै अध्यक्ष शेर्पा र महासचिव पेम्बा भोटे खेमा आक्रमणमा उत्रिएपछि भाँडभैलो मच्चिएको थियो । त्यसपछि ओलीले दुवै पक्षलाई सँगै राखेर झपारेपछि पासाङले मेरो जहिले गाडीमा जहिल्यै एउटा खुकुरी हुन्थ्यो, भान्जाले आवेशमा आएर झिकेछु भन्दै माफी मागेका थिए ।

दुई दिन बस्ने तय भएको बैठक भाडिएसँगै ओलीले कुनैपनि निर्णय नगर्न र बालुवाटार आउन निर्देशन दिएबमोजिम आज उनीहरु त्यता जान लागेको बताइएको छ ।

यसअघि पार्टीको बागमती प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव मन्दिरा श्रेष्ठले नाङ्गो खुकुरी नचाएको भिडियो बाहिर आएको थियो । त्यसैमा आधारित रहेर मिडियाहरुले समाचार बनाएका थिए । तर, अध्यक्ष पासाङका भान्जाले खुकुरी निकालेपछि खोस्न गएका बेला खिचिएको उक्त भिडियोले आफू अप्ठेरोमा परेको जनाउँदै उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएकी छन् ।

जनजाति महासंघको यो किचलोलाई एमालेभित्रको गुटगत टकरावको चरम उत्कर्षका रुपमा हेरिएको छ । महासचिव शंकर पोखरेल खेमाका अध्यक्ष पासाङ शेर्पाले उपाध्यक्ष विष्णु पौडेल समर्थक महासचिव पेम्बा भोटेलाई यसअघिको बैठकमा लात्ताले भकुरेपछि विवाद शुरु भएको र ुकुटाकुटुको तहमा पुगेको बताइन्छ ।