सेयर बजार २६१७ अंकमा झर्‍यो, बैंकिङमा उच्च गिरावट

भूगाेल संवाददाता
११ कार्तिक २०८१, आईतवार १५:२६

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २६१७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१९ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भएकोमा यस दिन ४ अर्ब ७३ करोडको भयो ।

कुल ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ११ को स्थिर रह्यो । जीवन बीमा समूह १.१५, फाइनान्स १.११, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर ०.४७ र व्यापार ०.२० प्रतिशत बढे ।

यीबाहेकका सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.३० प्रतिशत घट्यो । पहिलो त्रैमासिक वित्तीय विवरण त्यति सन्तोषजनक नदेखिएपछि यो समूहले लगानीकर्तालाई उत्साह दिन सकेको छैन ।

त्यस्तै विकास बैंक ०.५१, लगानी ०.१७, उत्पादन ०.९१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४४ तथा अन्य समूह ०.३२ प्रतिशत घटे । यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, माइखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

कालिन्चोक दर्शनको ९.७७, मकर जितुमाया हाइड्रोको ७.३९, नेपाल फाइनान्सको ६.६८, जानाकी फाइनान्सको ५.९० प्रतिशत मूल्य बढ्यो । नेपाल एसबीआई बैंकको मूल्य ६.७९ प्रतिशत घट्यो । प्राइम कमर्सियल बैंकको ४.१७, रावा इनर्जीको ४.०३ तथा आईसीएफसी फाइनान्सको ३.८३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, नेपाल एसबीआई बैंक, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।