नेत्रहीन विश्वकप क्रिकेटः नेपालले अफगानिस्तानपछि दक्षिण अफ्रिकालाई हरायो

भूगाेल संवाददाता
११ मंसिर २०८१, मंगलवार १६:४९

काठमाडौं । नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानपछि बलियो टोली दक्षिण अफ्रिकालाई पनि हराएको छ ।

जहाजको टिकट काट्ने पैसा नभएपछि रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको नेपाली टोलीले आफ्नो चौथो खेलमा मंगलबार दक्षिण अफ्रिकालाई पनि हराउन सफल भएको हो ।

पाकिस्तानमा जारी नेत्रही टी–२० क्रिकेट विश्वकपमा नेपालले मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १९९ रनको चुनौती दिएको थियो। नेपालको कठिन चुनौती पछ्याउने क्रममा दक्षिण अफ्रिका पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १८७ रनमा समेटियो । पराजित दक्षिण अफ्रिकाका लागि बुले भिडलाले अविजित शतक बनाए पनि जित दिलाउन सकेनन् ।

यसअघि पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भएको थियो । नेपाललाई शानदार स्कोरतर्फ अघि बढाउने क्रममा नरेश चौधरीले सर्वाधिक ८० रनको गतिलो पारी खेले ।

यसअघि पहिलो र दोस्रो खेलमा नेपाली टोलीले हारको सामना गरेको थियो । सोमबार पहिलो जित निकाल्दा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको थियो ।