कर्णालीले तोड्यो हारको खडेरी, बोपाराको अर्धशतकले रोकेन चितवनको हार

भूगाेल संवाददाता
२१ मंसिर २०८१, शुक्रबार १३:०१

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले तेस्रो खेलमा बल्ल जित निकालेको छ । यसअघिका दुई खेल गुमाएको कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १३१ रनको लक्ष्य पछ्याएको थियो । उसले अन्तिम ओभरको ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

भारतीय ब्याटर तथा कर्णालीका ओपनर शिखर धवनले आजको खेलमा अर्धशतक प्रहार गर्न ५ रनले चुके । उनले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन जोडे । धवनलाई नामिबियाका अलराउन्डर ब्याटरसमेत रहेका चितवनका जान निकोल लोफ्टी इटनको बलमा मैदानबाट बिहिरिए ।

कर्णालीका घरेलु ब्याटर देव खनालले ३४ बल खर्चिएर २५ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे ।

कर्णालीको जितका लागि चाडविक वाल्टनले ३ छक्काको सहयोगमा १९ बलमा ३० रन जोडे । जिशान मकसूद जविजित १२ रन जोडे । १० बलमा ११ रन जोडेका अर्जुन घर्ती रन आउट भएका थिए ।