हेटौंडाको चुरियामाई सुरुङ पुर्ननिर्माणको ८ महिनापछि खुल्दै
हेटौँडा । दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिँदै छ । हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हस्तान्तरण गर्दैछ ।
यसपछि उपमहानगरपालिकाले व्यवस्थित चुरियामाई सुरुङ अवलोकनका लागि खुला गर्ने जनाएको छ । सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निस्शुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।
वाग्मती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत जेठमा सकिएको थियो । हस्तान्तरणको प्रक्रिया नै लम्विएकाले सर्वसाधारणलाई सुरुङ खुला गर्न नसकिएको हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बताइन् ।
उनले भनिन, ‘अब हस्तान्तरण भएपछि ‘चुरियामाई सुरुङ’ अवलोकनका लागि खुला गरिने छ ।’ उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै संचालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ ।
ऐतिहासिक सुरुङ खुला गर्न सकेमा अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटकहरु आउने चुरियामाई संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनले बताए । उनले भने, ‘अहिले यसो बाहिरबाट हेरेर जान्छन्, दुवैतर्फ ढोका बन्द छ ।’
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो ।
नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार गरिएको वाग्मती प्रदेश यातायात पुर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले बताए । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका ८ महिनादेखि बन्द रहेका छन् ।
एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए ।
७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्ग मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकभन्दा बढी उक्त सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरे । पथलैया–हेटौँडा सडक निर्माण भएपछि यो सुरुङ प्रयोगमा रहेन ।
बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण गरिएको थियो ।
डा।टोनी हेगनले प्रकाशित गरेको ‘नेपाल’नामक पुस्तकमा चुरियाको सुरुङबारेमा पनि उल्लेख गरेका छन् । २४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै वीरगन्ज अमलेखगन्जसम्म सानो रेल, अमलेखगन्जबाट सानो जीपमा भीमफेदी आउने क्रममा हालको मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियाडाँडाको उकालो चढ्ने क्रममा देखेको मानव निर्मित सूरुङले आफू आठौँ आश्चर्यमा परेको हेगनले उल्लेख गरेका छन्।