हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्छः अस्पताल बचाउ तथा सुधार अभियान समिति
मकवानपुर । पटक पटक हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्नुपर्ने माग राख्दै आएको हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
अस्पतालमा विद्यमान व्यथिति उजागर गर्ने र हेटौंडा अस्पतालको स्वामित्व विवादका विषयमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको विषयलाई लिएर पत्रकार सम्मेलनको आयोजना गरिएको समितिका संयोजक विशालराज महतले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष प्रकाश पौडेलले ६४ वर्षको इतिहास बोकेको एक मात्र सरकारी अस्पताललाई मास्नेगरि बनेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ का केही उपदफा खारेज गर्नुपर्ने बताए । आफूहरुको माग प्रतिष्ठान विरुद्ध नभई हेटौंडा अस्पताल जोगाउनु रहेको उनले स्पष्ट पारे ।
हेटौंडा अस्पतालको स्वामित्वको विषयलाई लिएर सर्वोच्चमा रिट दायर गर्नुभएका अधिवक्ता केशवप्रसाद गौतमले प्रदेश कानूनले नेपाल सरकारको सम्पत्ति कुनैपनि हालतमा प्रतिष्ठानको नाममा लैजान नहुने बताए ।
अधिवक्ता गौतमले दायर गरेको रिटमा सर्वोच्चको गत मंसिर २६ मा बसेको संवैधानिक इजलाशले विपक्षी नेपाल सरकारसमेत १२ निकायलाई कारण देखाउ आदेश जारी गरेको छ । सर्वोेच्चले गत पुस ८ गते आदेश अनुसार पत्राचार गर्दै पत्र प्राप्त भएको ७ दिनभित्र उपयुक्त कारण माग गरेको छ ।