धुमधामसँग तमु ल्होसार मनाउँदै गुरुङ समुदाय (तस्बिरहरू)
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार देशभर तमु ल्होसार मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यताका साथ मनाउँछन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्बदन्ती छ ।
गुरुङ समु्दायले सोमबार संघीय राजधानी काठमाडौंमा पनि नाचगानसहित यो पर्व मनाइरहेका छन् । गुरुङले मनाएपछि यो चाड क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउँछन् ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम गरेका छन् ।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी