नियन्त्रणमा आयो मकवानपुरको मनहरीमा महिलाको ज्यान लिने बाघ

भूगाेल संवाददाता
१७ पुष २०८१, बुधबार १०:५६

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई आज साँझ नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन र पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छिमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् ।

बाघले सोमबार बिहान बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि बसन्तपुरबासी त्रसित बनेका थिए ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार १५ पुस सोमबार दिउस २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज शुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको ४ वटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली ४ जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।

बाघ घटना भएको क्षेत्रमै रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा आज साँझ ७ बजेको समयमा मनहरी–५ बसन्तपुरस्थित सुकौरा खोलामा एम्बुस थापेर बन्दुकबाट लट्याउने सुई लगाई (डार्ट प्रविधिं)द्वारा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए । बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ ।

मनहरीमा बाघ, हात्तीलगायतका वन्यजन्तुको आतंक विगतदेखि नै छ । ४ महिना अघि मात्रै मनहरी–६ प्रतापुरमा भैंसीले बाघ मारेको थियो ।

गत ५ भदौमा मनहरी–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो ।