मकवानपुरमा बाघ पछी मानिसमा गैडाको आक्रमण, एक जना घाइते

भूगाेल संवाददाता
१७ पुष २०८१, बुधबार १४:२८

हेटौंडा । मकवानपुरमा बाघ पछी मानिसमा गैडाको आक्रमण भएको छ । गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट एक जना बृद्ध महिलाको मृत्यु भएको केही दिनमानै फेरी घाँस काट्न गएकी अर्की महिलालाई गैडाले आक्रमण गरेको छ ।

पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर खोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा जंगली जनावर गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् ।

वनमा घास काटन तथा गोबर टिप्न गएकी वृद्धा महिलाला गैंडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवन जिल्ला राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् ।

घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल मकवानपुर र चितवनको सिमाना हो ।

मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई आज साँझ नियन्त्रणमा लिइएको छ ।

चार वटा हात्ती र चितवन र पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छिमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् ।

बाघले सोमबार बिहान बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि बसन्तपुरबासी त्रसित बनेका थिए ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार १५ पुस सोमबार दिउस २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज शुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको ४ वटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली ४ जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।