मकवानपुरमा बाघ, गैडा र हात्तिको त्रास कहिले सम्म ?
हेटौंडा । पस्चिम मकवानपुरमा जंगली जनावरको निकै त्रास बढेको छ । जंगली जनावरका कारण मकवानपुरको मनहरी गाउँपालिकाका नागरिकहरु घरबाहिर निस्कन पनि डराउन थालेका छन् । जंगली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्ने समस्या त पहिले देखिकै हो ।
केही वर्ष यता भने जंगली जनावरका कारण मानिस र चौपायामा निकै ठुलो क्षति भएको स्थानीय वासिन्दाहरु बताउँछन् । आरक्ष नजिक भएका कारण पनि बाघ, गैडा र हात्तिको त्रास निकै बढेको हो । जनावर बढ्दै जानु र उनीहरु हिडडुलको क्रममा बाहिर निस्कदा पनि मानिससंग जम्काभेट हुने गरेको छ ।
बर्षेनी जगली जनावरको आक्रमणबाट मानविय क्षति हुँदा पनि यसको दिगो समाधान तर्फ तीनै तहका सरकारहरु नलागेको स्थानीयको आरोप छ । जनावरको त्रास बढेपनि यसको नियन्त्रण र न्यूनीकरणका लागि ठोस कदम नचालिदा मनहरीका वासिन्दाहरु त्रसित हुँदै आएका छन् ।
यसैबिच
मकवानपुरमा बाघ पछी मानिसमा गैडाको आक्रमण भएको छ । गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट एक जना बृद्ध महिलाको मृत्यु भएको केही दिनमानै फेरी घाँस काट्न गएकी अर्की महिलालाई गैडाले आक्रमण गरेको छ ।
पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर खोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा जंगली जनावर गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् ।
वनमा घास काटन तथा गोबर टिप्न गएकी वृद्धा महिलाला गैंडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवन जिल्ला राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् ।
घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल मकवानपुर र चितवनको सिमाना हो ।
मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई आज साँझ नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन र पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।
मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छिमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् ।
बाघले सोमबार बिहान बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि बसन्तपुरबासी त्रसित बनेका थिए ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार १५ पुस सोमबार दिउस २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज शुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको ४ वटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली ४ जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।