बकैया कप फुटबल प्रतियोगिता सुरु

भूगाेल संवाददाता
२५ पुष २०८१, बिहीबार ११:०७

हेटौंडा । मकवानपुरमा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्वर–३ स्थित बकैया रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रको विकासको लागि पहल भइरहेकोे बताए ।
उनले आफू खेलकुद क्षेत्रकै मानिस भएको भन्दै खेलाडीको मर्म र भावना बुझेको र सोही अनुसार काम गर्ने प्रयास भइरहेको उल्लेख गरे ।

आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र त्यो अत्यन्तै न्यून भएको कारण खेल क्षेत्रको विकासका लागि सोचेअनुरुप काम गर्न कठिनाई भएको उनको भनाई छ । उनले आगामी वर्ष खेल क्षेत्रको विकास र खेलाडीहरुको हितलाई ध्यानमा राखेर बजेट बृद्धि गरिनेसमेत बताए ।

मन्त्री महर्जनले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर आफ्नो कार्यकालमा कार्यविधि नै बनाएर अन्तर्राष्ट्रिय पदक पाउने खेलाडीलाई नगदसहित सम्मान गर्ने कार्यको सुरुवात गरिएको र स्वयंसेवक प्रशिक्षक नियुक्तीको प्रक्रियासमेत अगाडी बढाइएको उल्लेख गरे ।
यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिए ।

यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।

प्रतियोगिता आगामी माघ १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।