रवि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् । बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन् ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए । रविलाई आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो । यद्यपि उनी आइतबारमात्रै अदालत उपस्थित हुने सो पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले जानकारी गराएका छन् ।
‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ,’ बोहोराले भनेका छन् । लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएपछि स्थलमार्गबाटै पोखराबाट काठमाडौं गएको रास्वपा कार्यबाहक प्रवक्ता झाले बताएका छन् ।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए । धरौटी बुझाएपछि रविलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।