काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु

भूगाेल संवाददाता
२ माघ २०८१, बुधबार ११:२६

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ।पूर्वगृहमन्त्री लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन्। पुस २८ गते गत आइतबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएका रविबारे न्यायाधीश माधवप्रसाद घिमिरेको इजलसामा पुस २९ गते सोमबारदेखि थुनछेक बहस जारी छ।

सोमबार रविविरुद्ध सरकार र जाहेरवाला तर्फका वकिलहरूले बहस गरेका थिए। उनीहरूले रविलाई थुनामै राख्नुपर्ने तर्क पेस गरेका छन्।सरकारी र जाहेरवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादी लामिछानेतर्फका अधिवक्ताले आज बहस थालेका हुन्। अहिले पूर्वन्यायाधिवक्ता पन्तले बहस गरिरहेका छन् भने रविका पक्षमा अर्का पूर्वन्यायाधिवक्ता रमन श्रेष्ठले पनि बहस गर्ने तयारी छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए।