विद्यालय हिँडेका अनमोल सम्पर्क बिहीन
हेटौंडा । गत बुधबार (माघ २ गते) देखि मकवानपुरको हेटौँडा–१६ चिसापानीका १३ वर्षीय अनमोल विश्वकर्मा बेपत्ता भएका छन्। विद्यालय जान भनेर बिहानै घरबाट किताबको झोला बोकेर निस्किएका उनी विद्यालय नै नपुगी बेपत्ता भएका हुन्।
हेटौँडामै रहेको रेड रोज बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने अनमोल हरेक दिन बिहानै कोचिङ क्लासको लागि निस्कन्थे। सो दिन पनि स्कुलको हाउस ड्रेस लगाएर बिहान ७ बजेतिर उनी स्कुल जान भनेर घरबाट निस्किएका थिए।
अनमेला स्कुल हिँडेपछि उनकी आमा उर्मिला कुमारी विश्वकर्मा घरको काम धन्दामा लागिन्। बिहान ८ बजेतिर फोनको घण्टी बज्यो। उर्मिलाका जेठाजुका छोराको मोबाइलबाट फोन गर्दै अनमोलले भने, ‘ममी आज स्कुल बिदा रैछ। त्यहीभएर म त ठूलोबाबाको घर आएँ।’ यत्ति भनेपछि अनमोलले फोन राखे।
उर्मिलालाई छोराको बोलीमा भर लागेन। तुरुन्तै विद्यालयका शिक्षकलाई फोन गरिन्। उनले सोधिन्, ‘आज के को बिदा हो र सर? उताबाट ती शिक्षकको जवाफ आयो, ‘कस्ले भन्यो बिदारु केहीको पनि बिदा छैन। अनमोललाई पनि स्कुल पठाउनोस्।’
अनमोल पढ्ने विद्यालयका शिक्षकले बिदा नभएको भनेपछि उनले पुनः अनमोलले फोन गरेको नम्बरमा डायल गरिन्। अनमोलले उताबाट बोल्न नपाउँदै उर्मिलाले झपार्दै भनिन्, ‘तँ खुरुक्क घर आइज। स्कुल बिदा सिदा केही छैन रे। पख् मैले जानेको छु तँलाई’
यती भनेपछि छोरा घर आइहाल्छ भन्ने लागेर उर्मिला आफ्नै कामतिर व्यस्त भइन्। खाना खाने बेलासम्म अनमोल घर फर्किएनन्। दिउँसो त आउला नि भनेर त्यति वास्ता गरिनन्। तर अबेरसम्म पनि घर नफर्किएपछि उनले फेरि जेठाजुका छोराको नम्बरमा फोन गरिन्। उताबाट सोही बिहानको ८ः३० बजेतिरै अनमोल निस्किएको खबर पाइन्।
‘त्यहाँ पुगेपछि बाहिरपट्टी लगाएको हाउस ड्रेस खोलेर झोलामा राखेको थियो रे,’ उर्मिलाले भनिन्, ‘भित्रपट्टी कालो टिसर्ट र कालोमा रातो धर्का भएको सुरुवाल लगाएको थियो। ठूलीममीले जाडो हुन्छ भनेर बाहिर पट्टी दाइको ज्याकेट लगाइदिनुभएको थियो रे। त्यहाँबाट स्कुल जान्छु भनेर निस्केको मान्छे स्कुल पनि पुगेको रैनछ।’
उर्मिलाका अनुसार बिहीबार (हिजो) अनमोल आफ्नी फुपु दिदीकोमा गएको भन्ने खबर पाएको बताउँछिन्। बुधबारको रात फूपूको घरमै बसेका अनमोलले घरमा सोधेर नै आएको भनेका थिए। अनमोलका फूपुका छोरा अर्थात् उर्मिलाका भान्जालाई फोन गरेर सोध्दा बिहीबार बिहानै स्कुल जानु छ भनेर निस्किएको जानकारी गराए। तर उनी न स्कुल पुगे, न त घर नै फर्किए।
त्यहाँँबाट पनि निस्किएको खबर पाएपछि उनी कहाँ पुगे? भन्ने अत्तोपत्तो छैन। चिनेजानेका सबै आफन्तकोमा पुग्यो कि भनेर खोजी गर्दा पनि कहिँ कतै छ भन्ने खबर नआएको उर्मिलाको भनाइ छ।
‘गाली गर्दैमा घरै छोडेर हिड्देला भन्ने मैले कल्पना पनि गरेको थिइनँ,’ भावुक हुँदै उर्मिलाले भनिन्, ‘स्कुल नगएको रिसको झोकमा कराएको थिएँ। गाली गरेपछि डरले कि घर आउँछ, कि स्कुल जान्छ भन्ने सोचेकी थिएँ। तर न स्कुल गएको छ, न त घर फर्कियो। मन साह्रै आत्तिएको छ।’
छोरा हराएपछि उनले बिहीबार प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएकी छन्। प्रहरीले पनि आफ्नो तवरले अनमोलको खाजी गरिरहेको जनाएको छ।