मकवानपुरमा एकै दिन १३ जना फरार अभियुक्त पक्राउ

भूगाेल संवाददाता
७ माघ २०८१, सोमबार १२:४८

हेटौंडा । जिल्ला प्रहरी कार्यालय हेटौंडाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइसकेपछि फरार रहेका १३ जनालाई एकै दिन पक्राउ गरेको छ । अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका धादिङ गजुरीका ३० वर्षीय अनिल लामा भन्ने केशरबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार हेटौंडा बजारबाट पक्राउ गरेको छ ।

यसैगरी मकवानपुरको वकैया गाउँपालिका—१० का एक महिलासहित ८ जनालाई कुटपिट मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकामा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । तिनीहरु ८ जनालाई जनही ९ सय ३० रुपैयाँ जरिवाना तोकिएको थियो ।

यसैगरी कुटपिटबाट गर्भपतन भएको अदालतले ठहर गरी जनही २ सय रुपैयाँ जरिवाना गरेपश्चात् फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरी असुलीको लागि अदालतमा पेस गरेको थियो ।