यू–१९ महिला विश्‍वकपमा नेपालको सान्त्वना जित

भूगाेल संवाददाता
११ माघ २०८१, शुक्रबार १४:५०

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्‍वकपमा सान्त्वना जित हासिल गरेको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले हराएको हो ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान पुजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी ४ रनमा अविजित रहिन् । मलेसियाकी मार्सियाले ३ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १–१ विकेट हात पारे ।

पूजा महतो आईसीसी यू–१९ महिला टी–२० विश्‍वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर समेत बनेकी छन् । उनले ४ खेलमा ९ विकेट लिइन् । अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् ।

नेपाल समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।