पाठेघर क्यान्सर विरुद्धको एचपिभी खोपः बागमतीमा ३ लाख, मकवानपुरमा २२ हजार किशोरीलाई लगाइने
मकवानपुर । नेपालमा हरेक वर्ष २ हजार १ सय ७९ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । हरेक वर्ष पाठेघरको क्यान्सरका कारण नेपालमा १ हजार ३ सय ९३ जना महिलाको ज्यान जाने गरेको छ । एचपीभी भाईरसका कारण लाग्ने पाठेघरको मुखको क्यान्सर रोगलाई निर्मुल पार्न नेपाल सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत मकवानपुरमा पनि एचपीभी खोप आउँदो माघ २२ देखि फाल्गुन ६ देखि सम्म लगाइने भएको छ । पाठेघरको क्यान्सर विरुद्धको एचपिभि खोप विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समुहको किशोरीहरुलाई दिईने भएको छ, भने विद्यालय जाने समुहका ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राहरुलाई दिईने भएको छ ।
स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय हेटौंडाले खोप बारे मंगलबार सञ्चारकर्मी र सरोकारवालाहरु समक्ष छलफल आयोजना गरेको छ । मकवानपुरमा मात्रै २२ हजार ७१३ किशोरीहरुलाई लक्षित गरेर यो खोप दिईने भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्र झाले बताएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ४ सय ८६, थाहा नगरपालिकामा १ हजार ८ सय ८९, भीमफेदि गाउँपालिकामा ८ सय ४४, मकवानपुरगढी गाउँपालिकामा १ हजार ७३, मनहरी गाउँपालिकामा २ हजार २ सय ६२, राक्सिराङ्ग गाउँपालिकामा ७ सय ९८, कैलाश गाउँपालिकामा १ हजार १, हेटौंडा उपमहानगरपालिकामा ११ हजार १ सय ७३, बागमती गाउँपालिकामा १ हजार ३ सय ३९ र बकैया गाउँपालिकामा १ हजार ८ सय ४८ जना किशोरीहरुमा एच।पी।भि खोप लगाइने भएको हो ।
फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको पारेर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार यो खोप एक पटक लगाए यसको मात्रा पूरा हुन्छ । स्वास्थ्य निर्देशनालय निर्देशक झाका अनुसार बागमती प्रदेशको मकवानपुरमा २२ हजार ७१३, चितवनमा ३१ हजार ५७०, धादिङमा १३ हजार ९७३ किशोरीलाई खोप लगाइने भएको छ।
यसैगरी ललितपुरका ३१ हजार ९८५, भक्तपुरका १९ हजार २९५, काभ्रेका १६ हजार ११३, सिन्धुपाल्चोकका १० हजार ४६८, दोलखाका ६ हजार ५२०, रामेछापका ७ हजार ७८ र सिन्धुलीका १४ हजार ६२२ जना किशोरीलाई एचपीभी खोप लगाइने निर्देशक झाले बताए ।
त्यसैगरी नुवाकोटका ११ हजार १७८, रसुवामा १ हजार ६८६, काठमाडौंमा १ लाख ११ हजार १०४ जना किशोरीलाई खोप लगाइनेछ । खोप अभियान सञ्चालन गर्न ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।
गत वर्ष सातै प्रदेशका १र१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६/६ महिनाको फरकमा दुई मात्रा एच।पि।भी। खोप दिइएको थियो।