बल्खुमा रामकृष्णको शंकास्पद मृत्यु:४ जनामाथि अनुसन्धान, २ जना छाडियो

काठमाडौं। बल्खुको तरकारी बजारनजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ६ जनामध्ये २ जनालाई छाडेको छ । मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये २ जनाको कुनै संलग्नता नदेखिएको भन्दै सामान्य सोधपुछ गरेर छाडिएको छ । बाँकी ४ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए । अनुसन्धान अधिकृतका अनुसार एक जनाले विवाद भएपछि कुटपिट गर्दा हत्या भएको समेत दाबी गरेका छन् । यद्यपि हत्याको यकिन भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । हत्याको आशंका गरेर शव पोस्टमार्टमका लागि पठाइए पनि रिपोर्ट आउन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । ‘हत्याको आशंका हो । तर, पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले अहिले यकिन हुन बाँकी नै छ’, एसएसपी अधिकारीले भने । बुधबार मृत भेटिएका दाहाल बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्थे । मृतकको टाउकामा चोट समेत लागेको थियो ।