६० किलो चाँदीसहित पक्राउ परेका ३ जनाविरुद्ध मुद्दा

भूगाेल संवाददाता
९ फाल्गुन २०८१, शुक्रबार १२:४५

काठमाडौं। ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीय कर्मा साह सोनार, कर्माकै श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका–२८ का ४० वर्षीय शंकर साह सोनार भनिने शंकरप्रसाद सोनार छन् । उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । उनीहरू विरुद्ध बिहीबार उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेको आरोपमा मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् । ६० किलो ८० ग्राम चाँदीसहित प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगर–२१ अमलेखगञ्जबाट कर्मालाई २१ मंसिरमा पक्राउ गरेको थियो । वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । प्रहरीका अनुसार स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर चाँदी बोकेर हिँडेको अवस्थमा उनी पक्राउ परेका थिए । प्रहरीले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । अनुसन्धानको क्रममा थप दुई जनाको संलग्नता देखिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको विभागले जनाएको छ ।