कोरोना जोखिमका कारण मकवानपुरमा निषेधाज्ञा साउन ७ गतेसम्म थपियो

भूगाेल संवाददाता
१ श्रावण २०७८, शुक्रबार ०६:१५

मकवानपुर । कोरोना भाइरस संक्रमणको जोखिमका कारण मकवानपुरमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

मकवानपुर कोरोना संक्रमणको जोखिममा रहेकाले वैशाख ११ गतेदेखि जारी निषेधाज्ञाको समय साउन ७ गतेसम्मलाई लम्ब्याउने जिल्ला सुरक्षा समिति मकवानपुरले निर्णय लिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहीबार आदेश जारी गर्दै निषेधाज्ञा थप भएको बताएका छन् ।

निषेधाज्ञाका बेला पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ४ बजेदेखि विहान ११ बजेसम्म खोल्ने दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

यस्तै, पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचर तथा फर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।

रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न दिइने भएको छ ।

निषेधाज्ञा लगाइएको समयमा पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन नगर्न आदेशमा भनिएको छ । यस्तै, प्रशासनको आदेशमा बैठकले सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।