साउने संक्रान्ति पर्व मनाइदै

भूगाेल संवाददाता
१ श्रावण २०७८, शुक्रबार ०८:१७

मकवानपुर । आज साउन १, साउने संक्रान्ति पर्व आफन्तका बीच खुशी साटासाट गरी मनाइदैंछ ।

साउने संक्रान्तिमा स्नान, दान तथा रमाइलो गर्ने गरिन्छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले साउने संक्रान्ति मनाउन थालिएको विश्वास गरिन्छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाउने गरिन्छ ।

आज बेलुका लुतो फाल्ने चलन पनि छ । परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो लैजा भन्ने गरिने परम्परा छ ।

यस्तै, लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।

साउन महिनाको अर्को विशेषता भनेको महिलाको ब्रत, हरियो चुरा तथा शिवको पुजा पनि हो ।

महिलाले साउन महिनाभर हरियो चुरा लगाउने गर्दछन् । यो महिनाभर महिला हरेक सोमबार शिवको ब्रत बस्ने गरेका छन् ।