थप दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट ज्यान जानेको संख्या १५२ पुग्यो, यस्तो छ पालिका अनुसारको विवरण

भूगाेल संवाददाता
२७ श्रावण २०७८, बुधबार १७:१०

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५२ जना पुगेको छ ।

जिल्लामा २४ घन्टाभित्र कोरोना संक्रमणबाट मृत्यु हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने ६१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार उनीहरु दुबै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हेटौंडा ७ का वृद्धमा गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भई साउन २० गतेदेखि र भीमफेदी १ का ६१ वर्षीय पुरुष गत साउन ९ गते कोरोना पुष्टि साउन १० गतेदेखि हेटौंडा अस्पतालमा उपचार गराइरहेका थिए ।

पछिल्लो समय दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ५२ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिकाका १ सय ९ जना, मनहरी गाउँपालिकाका ११ जना, थाहा नगरपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती र बकैया गाउँपालिकाका ४/४ जना, कैलाश र राक्सिराङ गाउँपालिकाका २/२ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै, थप ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज ११७ जनाको पिसिआर र २२ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमश : ४९ जना र ५ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज बुधबार कोरोना संक्रमण हुनेमा सबैभन्दा बढी ४५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार थाहा नगरका ३ जना,बागमती,मनहरी र भीमफेदी गाउँपालिकाका २/२ जनामा संक्रमण भएको हो । आज थपिएका सहित मकवानपुरमा हालसम्म १४ हजार १ सय २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयका अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ९ सय ७ जना रहेका छन् । जिल्लामा अहिले १ हजार १९ जना सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा ९ सय ७३ जना घरमा र ४६ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
कोरोना संक्रमणको जोखिमबाट बचाउन मकवानपुरमा आज बुधबारबाट कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइएको छ । आज बुधबारबाट खोपको दोस्रो डोज नलगाएका पालिकाले भोलि विहीबारबाट लगाउने तयारी गरेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमीरेले जानकारी दिए ।