कलाकार दिवेसको अगुवाईमा हेटौंडामा चित्रकला अभियान

भूगाेल संवाददाता
९ फाल्गुन २०७८, सोमबार १५:३६

मकवानपुर । शनिबारिय चित्रकला अभियानको हेटौंडा संस्करण शनिबार आयोजना गरिएको छ । हेटौंडाको संगमचोकमा राष्ट्रिय तथा स्थानीय कलाकारले स्थलगत चित्र कोर्दै प्रर्दशन गरेका हुन् ।

एकीकृत समाजवादी निकट ललितकला मञ्च नेपालका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य दिवेस प्रधानको अगुवाईमा आयोजित चित्रकला कार्यक्रमको नेवा सांस्कृतिक पुच : हेटौंडा र हेटौंडा उज्यालोले संयुक्त रुपमा आयोजना गरेको हो ।

हरेक शनिबार काठमाडौंमा चित्रकला अभियान सञ्चालन हुँदै आएकोमा यो पटक हेटौंडामा आयोजना गरिएको कलाकार प्रधानले जानकारी दिए ।

हेटौंडाको संगमचोकमा प्रत्यक्ष देखिएका दृश्यमा केन्द्रित भएर कलाकारहरुले चित्र कोरेर प्रदर्शन गरेका हुन् । कलाकार प्रधान, अमृत सुवेदी, जीवन गुरुङ,बीएस राना, एलन राजथला, करिमा जोशी, सुजन राई, ऋत्विक केबी, नवीन राई, दिलका राजा राजथला, जेनिफ श्रेष्ठ, लालसिं थिङले चित्र आफूले अगाडी देखेको दृश्यलाई चित्रमा कैद गरेका थिए ।

विगत ३ वर्षदेखि काठमाडौं तथा अन्य जिल्लामा यस प्रकारको चित्रकला अभियान सञ्चालन गरिँदै आइएको प्रधानले जानकारी दिए । स्थानीय रुपमा देखिने दृश्यलाई चित्रमार्फत आम जनसमुदायमा पुर्याउनका लागि अभियान गरिएको उनको भनाई छ । ‘सामान्य भूईमान्छे ग्यालरीमा गएर चित्र हेर्न सक्दैनन् । उनीहरुका लागि लक्षित गरी हामी हाम्रो कला प्रस्तुत गर्दै आइरहेका छौं । ’ प्रधानले भने,‘चित्रले धेरै कुरा बताउने भएकाले चित्रको शक्ति यस्ता प्रदर्शनीबाट नागरिकले बुझ्ने अवसर पाउँदछन् । ’

पल्स इन्टरप्राइजेज, हेटौंडा १० का सञ्चालक मुकेश चौधरीले चित्रकला कार्यका लागि आवश्यक रंग तथा कागज सौजन्य गरेका थिए भने कलाकार दिलका राजा राजथलाले कार्यक्रमको संयोजन गरेका थिए ।