स्थानीय तह निर्वाचन : बर्दिबासकाे कार्यतालिका सार्वजनिक

भूगाेल संवाददाता
९ बैशाख २०७९, शुक्रबार ०८:४६

बर्दिबास । स्थानीय तह निर्वाचनका लागि बर्दिबास कार्यालयले उम्मेदवारी समय तालिका सार्वजनिक गरेको छ । बर्दिबास निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले मतदान गर्ने समयभन्दा अगाडिको विभिन्न  प्रक्रियाका लागि समयतालिका सार्वजनिक गरेका हुन् ।

उम्मेदवार मनोनयन दर्ता गर्न बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयले २ दिनको समय राखेको छ। उम्मेदवार मनोनयन दर्ता गर्न ११ वैशाखदेखि १२ वैशाखसम्म बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुला गरिएको छ ।

उम्मेदवारी दर्ता भएका उम्मेदवारको सूची १२ वैशाखकै बेलुका ५ बजेदेखि ६ बजेको बीचमा प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा १ अनुसार व्यवस्था गरिएको उम्मेदवारविरुद्ध उजुरी दिन १३ वैशाख बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

१४ वैशाख र १५ वैशाखमा उजुरीउपर निर्णय भएपछि १५ वैशाखमा उम्मेदवारको नाम प्रकाशन गरिने निर्वाचन अधिकृत  सापकोटाले जानकारी दिए ।

अन्तिम नामावली भने १६ वैशाखमा प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई चिन्ह प्रदान गरेपछि ३० वैशाख बिहान ७ बजेदेखि नै मतदान सुरु हुनेछ ।

बर्दिबास नगरपालिकामा ५८ मतदानस्थल छन् भने ती स्थलमा झण्डै ४७ हजार मतदाताले मतदान गर्नेछन ।