वनकरियालाई लालपुर्जा दिलाउन वडाध्यक्ष थापा प्रयासरत

भूगाेल संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार ११:२७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ मा वर्षौंदेखि बसोबास गर्दै आएका नेपालकै लोपन्मुख वनकरिया समुदायलाई सामूहिक जग्गाधनी लालपुर्जा उपलब्ध गराउन वडाध्यक्ष प्रकाश थापाले पहल गरेका छन् । वर्षौंदेखि उपभोग गर्दै आएको जमीनको लालपुर्जा नभएर भूमिहीन सुकुम्वासी वनेका वनकरियालाई सामूहिक लालपुर्जाको माग गर्दै वडाध्यक्ष थापा काठमाडौं सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय पुगेका हुन् ।

वुधबार आधा दर्जनभन्दा बढि वनकरियालाई लिएर मन्त्रालय पुगेका वडाध्यक्ष थापाले मन्त्री शशी श्रेष्ठसँग भेटघाट गरे । वनकरिया समूदायलाई नियमसंगत लालपुर्जा वितरण गर्न थापाले मन्त्री श्रेष्ठ समक्ष माग राखेका थिए । भेटमा मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई नै लालपुर्जा वितरण गर्ने अधिकार प्राप्त भइसकेकोले त्यहीँ पहल गर्न सुझाव दिएकी थिइन् ।

तर, राष्ट्रिय निकुञ्जको बफर जोनमा बस्दै आएका वनकरिया समूदायलाई निकुञ्जले समस्या पारेको जानकारी दिँदै थापाले मन्त्री स्तरबाटै यसको समाधान गराउन आग्रह गरे । मन्त्री श्रेष्ठले स्थानीय स्तरबाट लालपुर्जा उपलब्ध गराउन समस्या भए मन्त्री स्तरबाटै समस्याको गाँठो फुकाउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्रीको आश्वासनले विश्वस्त थापासहितको टोली केही समयभित्रै वनकरिया समुदायले सामुहिक लालपुर्जा पाउनेमा ढुक्क भएर फर्किएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष थापाले कार्यकाल सुरु भएको केही दिनमै लालपुर्जाको पहल गर्दा वनकरिया समुदाय खुशी भएका छन् ।

चुनावी अभियानको क्रममा आफुले लालपुर्जाको लागि पहल गर्ने वचन दिएको र कुनै पनि हालतमा वनकरिया समुदायलाई लालपुर्जा उपलब्ध गराउन आफु निरन्तर लाग्ने थापाले दाबी गरे ।