पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ लाई भारतमा प्रदर्शन हुन नदिने

भूगाेल संवाददाता
२५ मंसिर २०७९, आईतवार १०:५९

 केही दिन अघि पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ भारतमा पनि प्रदर्शन हुने खबर आएको थियो ।

राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का नेता अमेय खोपकरले फिल्मलाई कुनै पनि हालतमा भारतमा प्रदर्शन हुन नदिने बताएका छन् ।

यस बाहेक उनले फिल्म वा फिल्मका मुख्य अभिनेता फवाद खानप्रति सहानुभूति राख्नेले पाकिस्तान गएर फिल्म हेर्न सक्ने बताएका छन् । यो पाकिस्तानको अहिलेसम्मकै सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ ।

नेता खोपकरले लेखेका छन्, ‘पाकिस्तानी अभिनेता फवाद खानको फिल्म ‘द लिजेण्ड अफ मौला जट’ भारतमा प्रदर्शन गर्ने योजना छ । एउटा भारतीय कम्पनीले यो फिल्मलाई देशमा प्रदर्शन गर्ने योजना बनाएको कुरा निकै अचम्मको कुरा हो । राज साहबको आदेशपछि यो फिल्म देशको कुनै पनि भागमा प्रदर्शन हुन दिँदैनौं ।’

महाराष्ट्र नवनिर्माण सेनाका नेताहरूले फिल्मप्रति देखाएको दृष्टिकोणलाई हेर्दा यो फिल्म भारतमा प्रदर्शन हुन निकै कठिन छ भन्ने अनुमान भारतीय सञ्चार माध्यमले लगाएको छ । फिल्म डिसेम्बर २३ मा भारतमा प्रदर्शन हुने खबर आएपनि आधिकारिक घोषणा भने भएको छैन ।

सन् २०१९ देखि भारत र पाकिस्तानबीच सांस्कृतिक प्रतिबन्ध छ । भारतीय फिल्म न त पाकिस्तानमा प्रदर्शन हुन्छ न त पाकिस्तानी फिल्म भारतमा प्रदर्शन हुने गर्दछ ।

‘द लिजेण्ड अफ मौला जट’ ले विश्वभर १० मिलियन डलर अर्थात् २२० करोडभन्दा बढी कमाइसकेको छ । जसमा पाकिस्तानी रुपैयाँबाट ८७.५० करोड रुपैया घरेलु बक्स अफिसबाट र १३२.५० करोड रुपैयाँ कमाएको छ । यो फिल्म पाकिस्तानी फिल्म इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म हो ।