लुम्बिनी प्रदेश सरकारको ५ वर्षमा १ खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ ।
२०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब ४७ अर्ब ६२ करोडको बजेट ल्याएको थियो । जसमध्ये पुुँजीगततर्फ ८५ अर्ब १० करोड र चालुतर्फ ६२ अर्ब ५१ करोड विनियोजन भएको थियो ।
नेकपा एमाले महासचिव शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्म साढे ३ वर्ष सरकार चलाएको थियो । २०७८ साउन २८ गते यताका दुई आर्थिक वर्षमा माओवादी नेता कुलप्रसाद केसी नेतृत्वको पाँच दलीय गठबन्धन सरकार छ ।
पाँच आर्थिक वर्षमा औसत बजेट खर्च ७१ प्रतिशत रहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जसमा पुँजीगत खर्च ७१ दशमबल ५२ प्रतिशत र चालुतर्फ ७० दशमबल २५ प्रतिशत रहेको कार्यालयका तथ्यांक अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
केसी नेतृत्वको वर्तमान सरकारले साविकका ९ वटा मन्त्रालय बढाएर १३ वटा पुर्याएको र मन्त्रिपरिषद ११ जनाबाट १७ सदस्यीय बनाएपनि बजेट खर्च भने झन् घटेको छ । चालु आर्थिक वर्ष ०७९/८० को पहिलो चौमासिकमा विकास बजेट ७ प्रतिशत पनि खर्च हुन सकेको छैन् । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म जम्मा ७ प्रतिशत हाराहारी मात्रै खर्च भएको तथ्यांक छ ।