हेटौंडास्थित बसपार्कको तरकारी बजारलाई चौकीटोलमा सारियो

भूगाेल संवाददाता
२५ मंसिर २०७९, आईतवार १७:३७

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कमा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई राप्ती नदी उकास क्षेत्रमा स्थानान्तरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले उक्त तरकारी बजारलाई हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर व्यवसायीलाई सारिएको हो ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी संघसँगको समन्वयमा उक्त स्थानमा १०६ जना व्यवसायीका लागि स्टल निर्माण गरिएको हो ।

उक्त तरकारी बजारको आईतबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गरेकी हुन् । सो क्रममा उनले बजार व्यवस्थापनका लागि उपमहानगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

यस्तै, उपमेयर राजेश बानियाँले तरकारी बजार र व्यवसायीलाई व्यवस्थित ढंगबाट काम गर्ने वातावरण तयार पार्ने बताए । बजारलाई व्यवस्थित गर्दा रोजगारीको अवसर पनि सिर्जना भएको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष राजकुमार न्यौपाने र तरकारी व्यवसायी संघ अध्यक्ष खड्गबहादुर मोक्तानलगायतको सहभागिता रहेको थियो ।