हेटौंडा अस्पतालमा आजबाट सुरु भयो सिटि स्क्यान सेवा, पहिलो दिनमै ८ जनाले सेवा लिए
मंसिर २५ गते, हेटौंडा । हेटौंडा अस्पतालले आफ्नो सेवालाई थप बिस्तार गरेको छ । नागरिकको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन अस्पतालले आईतबारबाट सिटि स्क्यान सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा अस्पतालले ( 128 slices,MDCT ) नामक सिटि स्क्यान मेसिन खरिद गरेको हो । अस्पतालले सिटि स्क्यान सेवालाई २४ सै घण्टा सुचारु गराएको छ । यस मेसिनबाट दैनिक २०–३० जना बिरामीलाई सेवा दिन सकिने अस्पतालले जनाएको छ ।
सिटि स्क्यान सेवा सुरु भएकै दिन आज ८ जना बिरामीले सेवा लिएको हेटौंडा अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो । सिटि स्क्यानबाट सामान्य एक्सरेबाट नदेखिएका रोगहरु, हड्डी खिइएको , नसा सम्बन्धि लगायत दुर्घटनामा चोटपटक लागेका घाउहरु सजिलै थाहा पाएर उपचारमा सहज हुने उहाँको भनाई छ । साथै रोगहरुको पहिचान गरी उपचारमा मद्धत पुग्ने उहाँले बताउनुभयो ।
बिगतमा यो सेवा नहुँदा रोगहरुको पहिचान गर्न समस्या भएको , अधिकांश बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने, सामान्य एक्सरे सेवा मात्रै गर्नुपर्ने जस्ता बाध्यता अस्पतालले भोग्नुपरेको चौलागाईको भनाई छ । सिटि स्क्यान सेवा सुरु भएसंगै बिरामीहरुले सर्वसुलभ रुपमा हेटौंडा अस्पतालमै स्वास्थ्य सेवा लिन सकिने उहाँले बताउनुभयो ।
अस्पतालले अहिले नयाँ भवनबाट सेवा दिईरहेको छ । अस्पतालले विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यअनुरुप केहि समयपछि एमआरआई मेसिन पनि जडान गरिने चौलागाईले जानकारी दिनुभयो ।