बागमती प्रदेश सभा पुरानै भवनमा

भूगाेल संवाददाता
२७ मंसिर २०७९, मंगलवार १०:५८

बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ ।

प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ बैठक बस्ने जानकारी दिनुभयो । पुरानै भवनमा मर्मत तथा रंगरोगन गर्ने तथा कुर्सीहरु मिलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सभा सचिवालयले २ करोड रुपैयाँ लागतमा विषयगत समितिका लागि ६ वटा कोठासहितको २ तले भवन तयार पारेको छ । सुरक्षाकर्मीहरुका लागि ४० लाख रुपैयाँ लागतमा आवास भवन तयार पारिएको छ । यस्तै, सचिवालय मर्मत तथा रगंरोगनका लागि ७ लाख रुपैयाँ खर्च गरेको सचिव खड्काले बताउनुभयो ।

१ सय १० सदस्यीय प्रदेश सभामा प्रदेशसभामा नेपाली कांग्रेसले ३७ सिट, नेकपा (एमाले) ले २७ सिट, नेकपा (माओवादी केन्द्र) ले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट, नेकपा (एकीकृत समाजवादी) ले ७ सिट, नेमकिपाले ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट जितेका छन ।