अभिनेत्री नोरा फतेहीद्वारा ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानीको मुद्दा दायर

भूगाेल संवाददाता
२७ मंसिर २०७९, मंगलवार १२:०८

भारतीय अभिनेत्री नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् ।

नोराले आफ्नो निवेदनमा सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क नभएको दाबी गरेकी छन् । यति मात्र होइन, नोराले सुकेशबाट उपहार लिएको आरोपलाई पनि अस्वीकार गरेकी छिन् । मिडिया ट्रायलका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको नोराले ज्याकलिन जिम्मेवार रहेको बताएकी छिन् ।

३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले अनुसन्धान गरिरहेको छ ।

ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप छ ।

ईडीले ज्याकलिन र नोरा दुवैलाई मनी लान्ड्रिङ मामिलामा सोधपुछका लागि धेरै पटक बोलाएको छ । तर, यस विषयमा अहिलेसम्म कुनै खास जानकारी आएको छैन । पटियाला अदालतले यस विषयमा डिसेम्बर १९ मा सुनुवाइ गर्नेछ ।