चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक

भूगाेल संवाददाता
२७ मंसिर २०७९, मंगलवार १२:३७

चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

१ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको चलचित्रमा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ ।

चलचित्रमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ ।

किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतबिरुद्धको सन्देश बोल्छ ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ ।

फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।