नीति बनाउने कार्यमा दलहरु विभाजित बन्नु हुदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताउनुभएको छ ।
मंगलबार प्रेस लैङ्गिक नीति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताउनुभएको हो ।
उहाँले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यक्ता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपालमा शुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरु अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानूनको संशोधन र निर्माण हुन नसकेको बताउनुभयो ।
महामन्त्री थापाले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधानका लागि हुन सक्ने सम्भावित कुराको जानकारी समयसमयमा गराइरहने हो भने नीति निर्माण कर्ताले पनि सोही अनुसार निर्माणका कुरमा आफ्ना धारणाहरु थप सशक्त र गम्भीरताका साथ उठान गर्नसक्ने बताउनुभयो ।