काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या
काठमाडौं । काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या भएको छ। तार्केश्वर नगरपालिका-६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। उनको शव सोही नगरपालिकाको वडा ३ मा रहेको पाखावनमा शव फेला परेको हो।
घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा उनको शव मंसिर २२ गते फेला परेको हो। प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। मंसिर २० गते मात्रै उनी हराएको भन्दै प्रहरी वृत्त बालाजुमा निवेदन परेको थियो।
दुई दिनपछि ती वृद्धाको शव जंगलमा फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। शव फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।
ती वृद्धाले राम्ररी आँखा पनि देख्थिनन् भने लाठी टेकेर हिँड्थिन्। हिँड्न र देख्नसमेत कठिन भएकी वृद्धा आफैं जंगलमा पुग्न गाह्रो हुने प्रहरीको बुझाइ छ। उनका एक छोरा र चार छोरी छिन्। उनीहरू आमासँगै बस्दैनन्। एक जना छोरी भने ५० मिटर परको अर्कै घरमा बस्थिन्।
२० गते आमालाई घरमा नदेखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि हराएको भन्दै प्रहरी वृत्तमा निवेदन समेत दिएकी थिइन्।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती वृद्धा को टाउकोमा भित्री चोट छ। जंगलमा फेला परेको उक्त शव भएको ठाउँमा घिसारिएको पनि देखिएको प्रहरीले बताएको छ।