लुम्बिनी प्रदेश सरकारले गर्व गर्न लायक काम गरेको छ : मुख्यमन्त्री केसी
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गर्नु भएको छ ।
लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियामा रहेकाे मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो भनाई राख्नु भएको हो । मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पार्नुभयो । आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उहाँको भनाई थियो ।
‘प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्ण रुपमा कार्यान्वयन गरेर संघीय व्यवस्थालाई बलियो बनाई दिने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो । यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ’, मुख्यमन्त्री केसीले भन्नुभयो ।
मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताउनुभयो । उहाँले केही दिनभित्रै मन्त्रालयहरुका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताउनु भयो ।