दुर्लभ पक्षी हुचील लोप हुने अवस्थामा
उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पक्षी हुचील लोप हुँदै गएको छ । बासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचील आजभाेलि यस क्षेत्रबाट लोप हुँदै गएको छ ।
बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापकरुपमा पाइने हुचील हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगर बताउनुहुन्छ । ‘केही वर्षअघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचील जताजतै पाइन्थ्यो’, उहाँले भन्नुभयो ।
केही वर्षयता यसको सिकार हुन थालेको र केहीले यसको बासस्थानसमेत नष्ट गरेको पाइएको मगर बताउनुहुन्छ । हुचीलको सिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट सिकारी आउने गरेको उहाँको भनाइ छ । स्थानीयसँग मिलेर हुचील सिकार गर्ने गरेको पाइएको मगर बताउनुहुन्छ ।
बेलका नगरपालिका–५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडा पाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचील पाइन्थ्यो । स्थानीय मानबहादुर राई केही समययता फाटफुट्ट मात्र देख्न सकिने बताउनुहुन्छ । ‘हिजोआज गाउँघरमा रातभरि नै हुचील कराएको सुनिँदैन’, उहाँले भन्नुभयो ।
हुचील मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन् । हुचील जिउँदै अन्यत्र लगेर बिक्री गर्ने गरेको पाइएको छ । जिउँदो हुचील २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचील संरक्षणको अभियान नै चलाएको बताउनुहुन्छ ।