शाहरूख खान वैष्णो देवीको दर्शनलाई लिएर विवादमा

भूगाेल संवाददाता
२८ मंसिर २०७९, बुधबार ११:२७

भारतीय अभिनेता शाहरूख खान हालै माँ वैष्णो देवीको मन्दिरमा पुगेका थिए ।

साेही मन्दिरबाट उनको एउटा तस्बिर सार्वजनिक भएको हाे । जसमा उनकाे निधारमा रातो टिका लगाएको देखिएकाे छ । शाहरूखको यो तस्बिर वैष्णो देवीको दर्शन गरेपछि खिचिएको भारतीय सञ्चार माध्यामहरूले जनाएकाे छन् ।

अहिले यो तस्बिर हेरेपछि केहीले शाहरूखलाई साँचो भारतीय भएको र सबै धर्मको सम्मान गरेकाे भन्दै उनको तारिफ समेत गरिरहेका छन् । तर कतिपयले भने उनकाे तस्बिरलाई ट्रोल बनाइरहेका छन् । २०२३ मा सार्वजनिक हुने फिल्म ‘पठान’ को प्रमोशनका लागि शाहरूख हिन्दु भएको नाटक गरिरहेको भन्दै आरोप समेत लगाएका छन् ।

फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा सार्वजनिक हुने भएकाे छ । सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्म हिन्दी, तमिल, तेलुगु भाषामा सार्वजनिक हुने भएकाे छ । यस फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भूमिकामा देखिने भएका छन् ।

अभिनेता शाहरूख पछिल्लो पटक ४ वर्षअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । यसैबीच, उनले ब्रह्मास्त्र र रकेटरी जस्ता फिल्महरूमा समेत क्यामियो रोल (अतिथि भूमिका) मा देखा परेका छन्।