ओलीसंगको भेटबारे माओवादी नेता गुरुङले भने -‘चुनाब जितेकोमा शुभकामना र बधाई मात्र दिएको हुँ ।’

भूगाेल संवाददाता
२८ मंसिर २०७९, बुधबार १३:३०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गुरुङ मंगलबार साँझ उनको निवास बालकोट पुगेका थिए ।

 

निर्वाचन जितेकामा बधाई तथा शुभकामना दिनका लागि मात्र आफू भेट्न गएको गुरुङ बताउँछन् । “निर्वाचन जितेका वरिष्ठ नेतालाई त शुभकामना दिनुपर्‍यो नि ! पाँचदलीय गठबन्धनका नेताहरूलाई त बैठकमा भेट भइहाल्छ,” गुरुङले भने, “ओलीजीसँग त बैठकमा भेट हुने कुरा भएन । अहिले शुभकामना दिने कुरा मात्रै हो । अरू केही होइन ।”

 

नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला एमाले अध्यक्ष र माओवादी महासचिवको सो भेटलाई महत्त्वका साथ हेरिएको छ । तर, उनले सरकार निर्माणका बारेमा छलफलै नभएको जिकिर गरे ।