आप्रवासी श्रमिकलाई क्षतिपूर्ति दिने कार्यलाई बेवास्ता नगर्न फिफा अध्यक्षलाई खुला पत्र
नेपालका तीन दर्जनभन्दा बढी नागरिक संघसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्ने नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् ।
कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकहरूले भोगको दुर्व्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा श्रमिकले भोगेको पीडालाई बेवास्ता गर्न नहुने भन्दै नागरिक संघसंस्थाले खुला पत्र लेखेका हुन् ।
यसका साथै श्रमिकहरू स्वदेश फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाण्डौका विभिन्न ठाउँहरूमा समेत एम्नेस्टी इन्टरनेसनलले बिल बोर्डमासमेत यही सन्देश राखिएको छ ।
कतारले आप्रवासी श्रमिकलाई क्षतिपूर्ति दिनका लागि भनेर सन् २०१८ मा छुट्टै कोष स्थापना गरेको थियो । तर स्वदेश फर्किएका श्रमिकले आफ्नो बाँकी तलब र क्षतिपूर्ति नपाएको र कोषमा श्रमिकको पहुँच पनि नभएको एम्नेष्टीको ठहर छ ।
यस्तै काम गर्दा गर्दै ज्यान गुमाएका श्रमिकका परिवारले पनि क्षतिपूर्ति पाउन नसकेको भन्दै पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने विशाल पूर्वाधार परियोजना निर्माण लगायत कतारका विभिन्न क्षेत्रहरूमा नेपालका करिब चार लाख श्रमिकहरू कार्यरत छन् ।
वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको भए पनि खाडी र अन्यत्र काम गर्न जानेहरू नियमित रूपमा श्रम शोषणको सिकार भइरहेका छन् । नेपाली श्रमिकहरूले रोजगारी प्राप्त गर्नको लागि सामान्यतया एक हजार अमेरिकी डलर भन्दा बढी अवैध भर्ना शुल्क पनि तिर्ने गरेका छन् ।
जोखिमपूर्ण कामकै कारण धेरै श्रमिकको ज्यान गइरहेको छ । तर मृत्युको कारण के हो भनेर कमै मात्र खोजी भएको पाइन्छ । कतारमा चर्को घामबाट बच्नका लागि श्रमिकलाई सुरक्षा दिइएको भए सन् २००९ देखि २०१७ को बीचमा निर्माणकाे क्षेत्रमा काम गर्ने झण्डै दुई सय श्रमिकलाई बचाउन सकिने एक अध्ययनले देखाएको छ ।
पछिल्लो समय कतारले आफ्नो श्रम कानुनमा सुधार त गरेको छ । तर पनि कतारमा श्रमिकमाथि हुने दुर्व्यवहार भने अझैँ कायमै रहेको एम्नेष्टीले बताएको छ ।