नदी किनारामा बसेका सुकुम्बासीको व्यवस्थापन चूनौतिपूर्ण : मन्त्री चौधरी
शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्री चौधरीले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक्ता रहेको बताउनुभयो ।
२८ औं महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर शहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरु सञ्चालन गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराउनुभयो ।
महानगरपालिकालाई बसोबास योग्य, प्रदुषणरहित वातावरणमैंत्री बनाई महानगरबासीहरुको आधारभूत आवश्यक्त परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहार मैलालगायतका समस्या समाधान गरी अघि बढन काठमाडौं महानगरपालिका सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।