चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

भूगाेल संवाददाता
२९ मंसिर २०७९, बिहीबार १५:४३

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो ।

केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उहाँले आग्रह गर्नुभएको छ । तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ ।

जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ । हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ ।

त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ । खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात पनि मन्त्रालयले आग्रह गरेको छ ।