‘प्रसाद २’को छायांकन सुरु, नम्रताको ठाउँमा केकी अनुबन्धित

भूगाेल संवाददाता
२९ मंसिर २०७९, बिहीबार १५:५१

चलचित्र ‘प्रसाद’को दोस्रो श्रृंखला ‘प्रसाद २’को छायांकन बिहीबारबाट सुरु भएको छ ।

चलचित्रको बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो । चलचित्रको करिब ४० दिनसम्म सोही ठाउँमा छायांकन हुने निर्माण टिमले जनाएको छ ।

कहिले कलाकार र निर्देशक परिवर्तन हुने त कहिले छायांकन सेटमा पुगेर पनि विभिन्न विवाद उब्जिएपछि अस्तव्यस्त बनेको यो चलचित्रले छायंकन सुरु गरेको छ । सुदर्शन थापाको निर्देशनमा बन्ने उक्त चलचित्रमा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । पहिला केकीको ठाउँमा अभिनेत्री नम्रता श्रेष्ठ थिइन् । तर, अर्को फिल्मसँग सेड्युल जुधेपछि उनी सहमतिमै बाहिरिइन् र केकी भित्रिएकी हुन् ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता सुदर्शन बस्नेत र कार्यकारी निर्माता सुवास थापा हुन् । विपिन र केकीका अलावा चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ ।

२०७५ सालमा प्रर्दशनमा आएको ‘प्रसाद’ सुपरहिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो ।