वायुसेवा निगम र आन्दोलनरत पक्षबीच सहमति : नियमित उडान सुरु
विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बुधवार र बिहीवार उडान रोकिएको थियो ।
निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच हिजो दिनभर छलफल गरेर सहमति भएसँगै बेलुकादेखि उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने हिजो बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन । सहमतिपछि उडान नियमित सञ्चालन भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । गएराति भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ ।
निगममा कार्यरत सबै क्याबिन क्रुको करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् । करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई करार नवीकरण नगरि सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए ।
नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति निकालेर निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो । आन्दोलनका कारण निगमले कम्तीमा ५० लाख रुपैयाँ अतिरिक्त घाटा ब्यहोर्नुपरेको छ ।