राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिदैन : देव गुरुङ
काठमाण्डौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताउनु भएको छ ।
देशमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाइ थियो । संवाद डबलीले शुक्रबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो व्यवस्था र प्रणाली रहुन्जेल देशको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । उहाँले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदल भित्र कहीँकतै पनि कुरा नउठेको पटकपटक दोहोर्याउनुभयो ।
महासचिव गुरुङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क समेत गर्नु भयो । महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताउनु भयो । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था देशमा विद्यमान रहेको उहाँले बताउनु भयो ।
महासचिव गुरुङले माओवादी विचारले देशलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीर समेत गर्नुभयो । उहाँले सरकारको नेतृत्व, देशको नेतृत्व देशलाई स्वाधिन ढंगले अघि बढाउने गरी खोज्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।