मंसिर मसान्तसम्म तीन खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन,गतवर्षको तुलनामा २० प्रतिशतले घट्यो

भूगाेल संवाददाता
१ पुष २०७९, शुक्रबार १६:३०

 

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म तीन खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

 

महालेखा नियन्त्रक कार्यालयका अनुसार गतवर्षको मंसिर मसान्तसम्मको तुलनामा २० प्रतिशतले राजस्व संकलन घटेको छ । गत वर्षको मंसिरसम्म सरकारले चार खर्ब ९ अर्ब राजस्व संकलन गरेको हो ।

 

 

आयातमा लागेको प्रतिबन्ध तथा आर्थिक गतिविधिमा आएको सुस्तताको कारण राजस्व संकलन घटेको हो । मंसिर मसान्तसम्म कर राजस्व अन्तर्गत तीन खर्ब १ अर्ब तथा गैर करअन्तर्गत २५ अर्ब रुपैयाँ उठेको छ ।

 

गत वर्षको तुलनामा २० प्रतिशतले राजस्व संकलन घट्दा सरकारलाई चालु खर्चसमेत धान्न नसक्ने स्थिति देखिएको छ । मंसिर मसान्तसम्म चालु खर्च तीन खर्ब ५४ अर्ब भएको छ । राजस्व संकलनको तुलनामा चालु खर्च २८ अर्बले बढी हो ।

 

मंसिर मसान्तसम्म सरकारले ३३ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।