कर्णालीमा २२ दलको धरौटी जफत
सुर्खेत । कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । ले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलहरुको धरौटी जफत भएको जनाएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेस गर्ने दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
पत्रकार भेटघाटमार्फत शनिबार सहसचिव भट्टराईले निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन् । यसमा पुरुष २५ जना (६२.५ प्रतिशत) र महिला १५ जना (३७.५ प्रतिशत) निर्वाचित बताए । उनका अनुसार कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
‘प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ११३ पुरुष र तीन महिला गरी कुल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो’, उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फ भने कुल दुई सय जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो ।’
प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा चार लाख ९७ हजार नौ सय ८० महिला, पाँच लाख १० हजार चार २० पुरुष र अन्य तीन गरी कुल १० लाख आठ हजार चार सय तीन मतदाता कायम रहेको उनले बताए ।
आयोगको प्रतिवेदनअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचनमा छ लाख १४ हजार सात सय १७ (६०.९६ प्रतिशत) मत खसेकामा पाँच लाख ८९ हजार चार सय ८४ (९५.९ प्रतिशत) मत सदर र २५ हजार दुई सय ३३ (४.१० प्रतिशत) मत बदर भएको छ ।
समानुपातिक निर्वाचनमा छ लाख १३ हजार पाँच सय नौ (६०.४ प्रतिशत) मतदान भएकामा पाँच लाख ७७ हजार आठ सय २९ (९४.१ प्रतिशत) मत सदर भएको छ । उक्त निर्वाचनमा ३५ हजार छ सय ८० (५.८२ प्रतिशत) मत बदर भएको आयोगले जनाएको छ ।