अमेरिकामा करौँती जस्ता दाँत देखाएर महिलामाथि यौन दुर्व्यवहार गर्ने एक पुरुष पक्राउ

भूगाेल संवाददाता
३ पुष २०७९, आईतवार १७:०८

 

वासिङ्गटन । अमेरिकाका मिचिगन निवासी एक ३६ वर्षीय पुरुषले एक महिलालाई अपहरण गरी हप्तौँसम्म यौन दुर्व्यवहार गरेका छन् ।

 

प्रहरीका अनुसार ती व्यक्तिले आफूले भनेको नमाने आफ्ना करौँतीजसरी तिखारिएका दाँतहरू देखाउँदै महिलाको घाँटी काटिदिने चेतावनी दिने गरेका थिए ।

गिनिस काउन्टी प्रहरी क्रिस स्वान्सनले माइकल बाराजास नामक ती व्यक्तिले थ्यान्क्सगिभिङ डेमा घरबाट निकालिएर अलपत्र परेकी ती युवतीलाई बाटोमा भेटाएपछि आफूसँगै बस्न मनाएको बताएका छन् ।

गर्भवती अवस्थामा रहेकी बताइएकी ती महिलाले चिसो रात कटाउन उनको घरमा शरण लिन मानेकी थिइन् । तर, खराब नियतका बाराजासले उनलाई पलङमा बाँधेर सहमतिबिना पटक–पटक यौन दुराचार गरेका थिए ।

 

तीन सातासम्म बन्दी बनाइएकी उनलाई अरू थुप्रै व्यक्तिसँग पनि जबर्जस्ती यौनसम्पर्क गर्न लगाइएको प्रहरीको भनाइ छ ।

 

उनलाई थुनिएको कोठाका झ्यालहरूमा बाहिरबाट किला ठोकिएको थियो । बाजारासले पीडितलाई आफूलाई ‘ड्याडी’ सम्बोधन गराएर पत्रहरू समेत लेख्न लगाउने गरेका थिए ।

 

तीनपटक भाग्ने कोसिस गरेकी उनलाई दुईपल्ट पीडक र उनका मतियारहरूले रोक्न सफल भएका थिए । तर, तेस्रोपटक गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य समस्या लिएर अस्पताल लैजाँदा त्यहाँका एक कर्मचारीले उनीमाथि यातना दिइने गरेको उजुरी प्रहरीमा गरेपछि मुक्ति पाएकी हुन् ।

 

प्रहरीले बाराजासलाई अपहरण गरेको, आपराधिक यौन क्रियाकलापमा सरिक रहेको, साथमा लागुऔषध मिथएम्फटामाइन राखेको र यातना दिएको अभियोग लगाएको छ । अहिले उनलाई दुई लाख ४५ हजार अमेरिकी डलर जमानत तोकेर प्रहरी हिरासतमा राखिएको छ । डेली विस्टबाट ।