संसद् सचिवालय शपथको गृहकार्यमा
सङ्घीय संसद् सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ गराउने तयारीमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ ।
ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सात दिनको समय दिएर आह्वान गरिसक्नुभएको छ । अहिले नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शम्शेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।
कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिन अघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधि सभा सदस्य २०७४ सालको चुनाव पछि झण्डै ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए ।
सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो झण्डै पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो ।