झापाकाे चारआलीमा मृत भेटिएका दम्पतीको पहिचान खुल्याे
झापाको मेचीनगरमा रहेकाे चारआली जङ्गलमा भेटिएका दम्पतीकाे शवको पहिचान खुलेको छ । शव अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उहाँकै श्रीमती सन्जुकाे रहेको प्रहरीले पुष्टि गरेको हो ।
लिम्बू दम्पतीको कुहिन लागेको शव हिजाे सोमवार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार इङ्नामकाे शव झुन्डिएको र सञ्जुकाे शव भुइँमा लडेको अवस्थामा भेटिएकाे थियाे। शवको प्रकृति हेर्दा करिब १० दिनअघि ज्यान गएकाे हुनसक्ने उहाँकाे अनुमान छ। प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, डाेरी फेला पारेको छ ।
सोमवार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेका जनाइएको छ । उनीहरु मेचीनगर–१२ मा डेरा बस्दै आएका थिए । नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए । सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ ।
नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । ‘घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशङ्का गरिएको हो’, उहाँले भन्नुभयोे, ‘शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ ।’
घटनास्थलमा भेटिएको दाउरा नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए । दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि हिजाे बेलुका धरान घोपा पठाइएको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।