कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाबीच प्रतिस्पर्धा हुने

भूगाेल संवाददाता
५ पुष २०७९, मंगलवार १४:००

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम छ ।

 

सभापति देउवा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार छन् । १४ औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी रहेका नेता शेखर कोइराला नेतृत्वको समूहले पनि महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

 

नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आफैँ उम्मेदवार बन्ने वा कसलाई सघाउने भन्ने यकिन गरेका छैनन् । अनामनगरस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकमा नेता कोइरालालाई महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।

 

बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताए । त्यही बैठकमा पुगेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई मध्यनजर गर्दै थापालाई संसदीय दलको नेता बनाउन आव्हान गरे ।

 

महामन्त्री थापाले चुनाव अगावै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । तर, चुनावपछि भने कोइराला आफैँलाई उम्मेदवार बन्न समूहभित्रै दबाब सिर्जना भएको थियो । लामो छलफलपछि कोइरालाले नै थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन् ।

 

अब संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचौ पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्दैछन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । ४६ वर्षे थापा देउवाभन्दा ३० वर्ष कान्छा छन् ।